काठमाडौँ २० माघ । चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका भित्र र बाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क निर्धारण गरिसकेको भए पनि त्यसको पालना नभएको पाइएको छ । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजल पनि यो मामलामा अछुत रहेन । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीहरूसँग सरकारले तोकेभन्दा २८ लाख बढी शुल्क मागेपछि अभिभावकले प्रशासनको ध्यानाकर्षण गराएका छन् । सरकारले तोकेको भन्दा २८ लाख बढी फिस तोकेपछि अभिभावकले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । कलेज प्रशासनले तोके बमोजिमको शुल्क अग्रिम नबुझाए विद्यार्थीलाई पठनपाठनमा समावेश नगराउने धम्की दिएको अभिभावकहरुले गुनासो गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । आवास शुल्क बाहेक कलेजले अन्य रकम लिन मिल्दैन । तर, नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २८ लाख रुपैयाँ गैरकानुनी तरिकाले अतिरिक्क्त भन्दै बढी शुल्क माग्ने गरेको अभिभावक हेमन्त कुमार शर्माले बताए ।
सरकारले तोकेको पहिलो किस्ताको रकम १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजले अभिमुखीकरण कार्यक्रम गर्दै बढी शुल्क माग गरेको थियो । कलेजले बदनियतपूर्ण तरिकाले सरकारले तोकेकोभन्दा बढी शुल्क माग गरेको भन्दै ४० जना अभिभावकहरूले हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले प्रसाशन कार्यालयमार्फत शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, अख्तियार दुरूपयोग अनुन्सधान आयोग र मोरङ प्रहरीलाई बोधार्थमा राखेर अनुसन्धान गरि कारवाहीको दायरमा ल्याउन पनि माग गरेका छन् । अभिभावले विद्यार्थीहरुको शान्ति सुरक्षा कायम गर्दै विद्यार्थीको भविष्य पनि सुनिश्चित गर्न प्रशासनँग माग गरे । नोबेल कलेजले एमबीबीएसमा एक सय सिट पाएको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क भन्दै २८ लाख दरले उठाउँदा उसले २८ करोड रुपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ ।
नोबेल कलेज प्रशासनले इन्टनसिप शुल्कबापत ४ लाख ४० हजार मागेको छ । ९ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले रकम मागिएको छ । कलेजले ५ वर्षको होस्टल शुल्क पनि भर्ना अगावै माग गरेको छ । होस्टलका लागि ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख गरिएको छ ।
Write your comment